काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरूसँग गरिरहेको निरन्तर परामर्शअन्तर्गत आज नेपाली कांग्रेसका नेताहरूसँग दुई घन्टासम्म छलफल गरेकी छन्। बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको उक्त भेटवार्तामा कांग्रेसका देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी थिए।
प्रधानमन्त्रीसँगको कुराकानीपछि नेता गुरूराज घिमिरेले बताएका अनुसार प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव गराउन सरकार पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको स्पष्ट पारिन्। घिमिरेका शब्दमा, ‘प्रधानमन्त्रीज्यूले फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव गराउन सरकार प्रतिबद्ध छ, नेपाली कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्छ, चुनावका लागि वातावरण बनाउनुपर्छ भन्ने कुरा गर्नुभयो।’ उनका अनुसार सहभागी सबै नेताहरूले पनि क्रमैसँग सरकार समयमै चुनाव सम्पन्न गराउनुपर्ने विषयमा आफ्नो धारणा राखे।
छलफलमा सहभागी अर्का कांग्रेस नेता राजेन्द्र बजगाईले पनि प्रधानमन्त्री कार्की चुनावको मिति र व्यवस्थाप्रति दृढ रहेको जनाउँदै भनेका छन्, ‘चुनावका लागि राजनीतिक दलहरूले सहयोग गर्नुपर्छ भन्नुभयो, हामीले चुनाव समयमै हुनुपर्छ भन्यौं। उहाँ लोकतन्त्र, कानूनको शासन र निष्पक्ष चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध देखिनुभएको छ।’