नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पुस मसान्तभित्रै सम्पन्न गर्नु अब पार्टीको केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भइसकेको बताएका छन्।
केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर नेताहरूले स्मरण पत्र बुझाएपछि प्रतिक्रिया दिँदै थापाले विधानअनुसार पनि पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था आइसकेको स्पष्ट पारे। ‘विशेष महाधिवेशन पुस मसान्तभित्र अनिवार्य रूपमा गर्नुपर्ने कुरा अब कांग्रेस केन्द्रीय समितिको अनिवार्य जिम्मेवारीभित्र पर्छ, यो हाम्रा लागि अब ऐच्छिक विषय रहेन,’ उनले भने।
थापाका अनुसार यदि पुस मसान्तभित्रै १५ औं महाधिवेशन सम्पन्न भएको भए विशेष महाधिवेशनको माग स्वतः अर्थहीन हुने थियो, तर हालको परिस्थितिमा १५ औं महाधिवेशन हुने सम्भावना नरहेकाले विशेष महाधिवेशनलाई सम्बोधन गर्नैपर्ने अवस्था आएको छ। उनले विशेष महाधिवेशनको प्रक्रिया र तालिका कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रीय कार्यालयमै छलफल गरिने र यसबारे विशेष महाधिवेशन पक्षधरहरूसँग पनि संवाद गरिने जानकारी दिए। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै औपचारिक प्रस्ताव पेस गरेका थिए।