शेखर कोइरालाको जोड– पुसभित्रै नियमित महाधिवेशन नभए ‘विशेष’ बाटै अघि बढ्नुपर्छ

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन ढिला गर्ने कुनै बहाना नमानेर पुसभित्रै नियमित रूपमा सम्पन्न गर्नुपर्नेमा कडा जोड दिएका छन्। वैशाख वा त्यसभन्दा पछि गर्ने गरी केही नेता तयार देखिन थालेको संकेत गर्दै उनले आफू भने पहिले देखिनै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने अडानमा रहेको स्पष्ट पारे।

बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा करिब ४० जना युवाहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं। ढिलो गरियो भने समस्या झन् बढ्छ।’ उनका अनुसार नियमित महाधिवेशन पुसमै सम्भव नभए यस्तो विवाद थपिनु भन्दा केन्द्रीय समितिले सर्वसम्मत रूपमा निर्णय गरेर विशेष महाधिवेशनतर्फ जानु सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ।

उनले चेतावनी दिँदै भने, अहिले असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरको सनाखत प्रक्रिया अघि बढाउदा पार्टी फुटको जोखिम बढ्न सक्छ। त्यसैले बहुमत होइन, केन्द्रीय समितिको सर्वसम्मत निर्णयमार्फत विशेष महाधिवेशनमा जाने हो भने मात्रै कांग्रेसलाई विभाजनबाट जोगाउन सकिने उनको तर्क छ।

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार कोइरालाले युवाहरूसँगको छलफलमा स्पष्ट रुपमा भनेका छन्, ‘म पार्टी विभाजनको पक्षमा छैन। सनाखत थालियो भने फुट सम्भव छ।’

कांग्रेसभित्र अहिले चुनावअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने प्रश्नमा गम्भीर मतभेद देखिएको छ। शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशनका पक्षमा उभिएका छन्। देउवा पक्षका कतिपय पदाधिकारी भने त्यसो सम्भव नभएको भन्दै वैशाखमा गर्ने प्रस्तावमा छन्। देउवानिकट २५ केन्द्रीय सदस्य भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने धारमा उभिएका छन्।

असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिए पनि सर्वसम्मत निष्कर्षमा पुग्न नसकिएको कारण बैठक मंसिर ४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। भित्रभित्रै देउवा, पूर्णबहादुर खड्का र अन्य वरिष्ठ नेताहरूबीच अनौपचारिक छलफल जारी छ।

यसैबीच, विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत प्रतिनिधिहरूले पनि दबाब दिन कार्यक्रमहरु अगाडि बढाउने तयारी गरेका छन्। पार्टीभित्रको यो मतभेद समाधान नहुँदासम्म महाधिवेशनको समयबारे स्पष्टता आउने सम्भावना देखिँदैन।

प्रतिक्रिया