१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न तोकिएको थपिएको अवधि आज सकिँदैछ। निर्वाचन आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार मंसिर १ गतेदेखि १० गतेसम्मको समय रहे पनि दलहरूले थप समय मागेकाले आयोगले चार दिन बढाएको थियो। गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्, र आजको अन्तिम दिनसम्म दर्ता हुने दलहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले मात्रै चुनाव लडेका थिए। यसपटक भने दर्ता गरेकै आधारमा दलको संख्या १०८ पुगिसकेको छ र अझ बढ्न सक्ने अनुमान छ। जेनजी आन्दोलनपछि गठन भएका २३ दलले आयोगबाट आधिकारिकता पाइसकेका छन् भने १६ दल अझै दर्ता प्रक्रियामा छन्।
पछिल्लो दिनमा माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्। सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वोदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी, रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, श्रृया केसीको नागरिक सेवा पार्टी, अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट पनि दर्ता सूचीमा छन्।
यसअघि हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएका थिए। प्रचण्ड–माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल पनि दर्ता भइसकेका छन्।
अकबर खानको राष्ट्र निर्माण दल नेपाल, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल दर्ता भएका दल हुन्।
दर्ता प्रक्रियामा रहेका दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र), सुन्दरराम बोहराको आवाज पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी र शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी रहेका छन्।