बालेन झापा–५ आयो भने ओलीले अझ ठूलो मतान्तरले जित्छ: एमाले अध्यक्ष गिरी

nepaltext.com

झापामा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट चुनाव लड्न आए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली अझ धेरै मतान्तरले विजयी हुने दाबी गरेका छन् । बालेन शाह झापाबाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले एमालेले झापा–५ मा ओलीको नाम एकल रूपमा सिफारिस गरिसकेको स्मरण गराउँदै बालेन आए पनि एमालेको मताधारमा कुनै असर नपर्ने बताए । उनका अनुसार केवल पपुलिज्मका भरमा अर्को भूगोलमा आएर चुनाव जित्न सजिलो हुँदैन, जनताका लागि काम गर्ने नेतृत्वलाई नै मतदाताले मत दिने गर्छन् । गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गर्दै, आइहाले पनि परिणाम फरक नपर्ने दोहोर्‍याए । साथै उनले कुलमान घिसिङ र बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग अदृश्य शक्तिले जबर्जस्ती जोड्न खोजिएको आरोप लगाउँदै रास्वपाले मनदेखि बालेनलाई स्वीकार गर्न नसक्ने र झापाबाटै उनको राजनीतिक भविष्य समाप्त पार्ने रणनीति बनाएको दाबी गरे । उनका अनुसार क्षेत्रमै पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्ने अवस्था छैन । अघिल्लो निर्वाचनमा झापा–५ बाट ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै २८ हजार ५७६ मतान्तरसहित दोब्बरभन्दा बढी मत ल्याएर विजय हासिल गरेका थिए । एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर हुँदा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया