अविरल वर्षापछि गगने भीरमा पहिरो, कर्णाली राजमार्ग ठप्प

nepaltext.com

सुर्खेत । रातभरि परेको अविरल वर्षापछि कर्णाली राजमार्गको कालिकोट खण्डस्थित गगने भीरमा ठूलो पहिरो खसेको छ । त्यसकै कारण अहिले राजमार्ग अवरुद्ध भएको छ ।

असार महिनादेखि अहिलेसम्म मात्र गगने भीरमा २८ पटक पहिरो खसिसकेको छ । हरेक पटक बाटो अवरुद्ध हुँदा यात्रुहरू अत्यधिक सास्ती खेप्न बाध्य भएका छन् ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतका अनुसार वर्षा सुरु भएलगत्तै गगने भीरबाट लेदो र ढुङ्गा खस्ने गरेका कारण बाटो खुलाउन निकै कठिन भइरहेको छ । उनले भने, “गगने खोलामा लगातार पहिरो खस्दा बाटो खुलाउने काम चुनौतीपूर्ण बनेको छ । वर्षा रोकिएपछि मात्रै सडक सुचारु गर्न सकिन्छ ।”

बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि माथिबाट पुनः पहिरो खस्न थालेपछि काम रोकिएको उनले बताए । पहिरो हटाउन जेसीभी मेसिन परिचालन गरिएको भए पनि वर्षा नरोकिएपछि बाटो खुलाउन समस्या भइरहेको उनको भनाइ छ ।

राजमार्ग अवरुद्ध भएपछि सुर्खेततर्फ जाने सवारीसाधन हुल्ममा रोकिएका छन् भने सुर्खेतबाट आएका गाडीहरू मालाचौरमै थुनिएका छन् ।

प्रतिक्रिया