साताको दोस्रो कारोवार दिन सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.७२ अंक, फ्लोट इन्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७६ अंकले घटेको छ। आइतबार बजारमा ७ अर्ब ८ करोड रुपैयाँबराबर शेयर खरिदबिक्री भएको थियो भने सोमबार ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन ४ स्टक - सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज - सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस्तै, ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र बन्दीपुर केबलकार एण्ड टुरिजमका शेयर सबैभन्दा बढी कारोबार भएका हुन्।
उपसमूहको आधारमा हेर्दा १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंकले वृद्धि भएको छ।