दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा फसेका चार जनाको आज बिहान उद्धार गरिएको छ। उद्धार गरिएका सबै जना घाइते अवस्थामा भेटिएका छन्।
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी र दुई जना नेपाली पथप्रदर्शकलाई यलुङ री हिमालको आधार शिविर (बेस क्याम्प) नजिकैबाट उद्धार गरिएको हो।
“घाइते चारै जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको छ,” प्रमुख जिल्ला अधिकारी रिसालले बताए।
यसैबीच, हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको र चाँडै नै चरिकोट ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
आरोहणको तयारीमै परेको विपत्ति
रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही टोली बेस क्याम्प पुगेका थिए।
लगातारको बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बास बसेका थिए। सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमै रहेका बेला अचानक हिमपहिरो खस्दा टोलीका सदस्यहरू पुरिएका हुन्।
हिजोसम्म एक विदेशीसहित तीन जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै पाँच जना बेपत्ता रहेका छन्।
हराइरहेका व्यक्तिहरूको खोजीकार्य अहिले पनि जारी छ।
खोज तथा उद्धार कठिन
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मीहरू खोज तथा उद्धारमा संलग्न छन्।
टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको भए पनि दुर्गम भू–भाग र प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको बताइन्छ।
दुई फरक ट्राभल कम्पनीमार्फत गएका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका तयारीमा थिए। तर सोमबार बिहानै आएको हिमपहिरोले उनीहरूलाई विपद्मा पार्यो।
उच्च हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह
स्थानीय प्रशासनले पछिल्ला दिनमा लगातार बाक्लो हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रमा आरोहण वा भ्रमणमा जाने पर्यटक र आरोहीहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार, उच्च हिमाली भागमा निरन्तर भइरहेको हिमपातका कारण हिमपहिरोको जोखिम अझ बढेको छ।