सुर्खेत । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन्। डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको दाबी गर्दै आफन्तहरूले बुधबार अस्पताल परिसरमा भेला भएर आन्दोलन गरेका हुन्। कालिकोटको खाँडाचक्र नगरपालिका–२ का उमेश बरालका दुई वर्षीय छोरा सन्तोष बराल उपचारकै क्रममा ज्यान गुमाएका थिए। आफन्तहरूको भनाइ अनुसार चिकित्सकको लापरबाहीकै कारण बच्चाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार आइतबार अपराह्न ४ः३० बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा लडेर बालक घाइते भएका थिए। घाइते भएपछि उनलाई तत्काल जिल्ला अस्पताल मान्म लगिएको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो। गएराति उपचारकै क्रममा बालकको मृत्यु भएको हो। बालकको मृत्युको विषयलाई लिएर बुधबार बिहानैदेखि आफन्तहरू अस्पतालमा भेला भई छानबिनको माग राख्दै अवरोध गर्ने प्रयासमा उत्रिएका थिए। अस्पतालमा तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय सुर्खेतबाट दुई जना प्रहरी निरीक्षकसहित ६० जना प्रहरी टोली घटनास्थलमा खटाइएको एसपी शाहीले जानकारी दिए। प्रहरीको पहलमा मृतकका आफन्त र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापाको नेतृत्वमा रहेको टोलीबीच छलफल भइरहेको छ। छलफलपछि अस्पतालले मृतक बालकको उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने र शवलाई घरसम्म लैजाने व्यवस्था मिलाउने प्रारम्भिक सहमति भएको छ। दुई पक्षबीच सहमति बनेसँगै अस्पतालको अवस्था क्रमशः सामान्य बन्दै गएको शाहीले बताएका छन्।