काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान उनको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतको उपस्थिति रहेको थियो । माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रकाशमान सिंहले गणेशमान सिंहले जनताको अधिकारका लागि गरेको योगदानलाई स्मरण गरे ।
उनले भने, “जनतालाई अधिकार दिलाउन उहाँले गर्नुभएको योगदान असाधारण छ । देश र जनताको अधिकारका विषयमा उहाँले कहिल्यै सम्झौता गर्नुभएन । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा बढी जेल जीवन बिताउनुभएको तथ्यले उहाँको संघर्ष कस्तो थियो भन्ने स्पष्ट हुन्छ।”
त्यस्तै उनले हालसालै भएको जेनजी आन्दोलनलाई लिएर दलहरूको योगदानलाई कमजोर देखाउन खोज्ने दुष्प्रयास भएको उल्लेख गर्दै यसको छानबिन गर्नुपर्ने माग गरे । सिंहले भने, “जेनजी आन्दोलनलाई कभरअप गर्ने नाममा दलहरूको योगदानलाई बेवास्ता गर्ने दुष्प्रयास भइरहेको छ । त्यसकारण यसबारे गम्भीर छानबिन आवश्यक छ, सरकार र पार्टी दुवै सचेत हुनुपर्छ।”
कार्यक्रममा सहभागीले गणेशमान सिंहको त्याग, संघर्ष र समर्पणलाई नेपालको प्रजातान्त्रिक यात्राको आधारका रूपमा स्मरण गर्दै उनको योगदान भावी पुस्ताका लागि प्रेरणादायी हुने बताएका छन् ।