१ पुस, काठमाडौं । मंगलबार सेयर बजारमा १८.३७ अंकको वृद्धि भएको छ। यस वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा स्थिर रह्यो र दिनभरको लागि यही बन्द हुने समयको अंक सबैभन्दा उच्च रह्यो। आज बजार खुल्ने बित्तिकै कुनै पनि समयमा नेप्से रातो देखिएन।
बजारमा १८७ कम्पनीको मूल्य बढ्दा ६१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको कारोबार भएको छ। व्यापार समूहबाहेक सबै समूहका सूचकमा वृद्धि देखिएको छ। व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ र अन्य समूह १.१५ प्रतिशतले बढेका छन्।
आज तीन कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। १० प्रतिशतले मूल्य बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक छन्। त्यस्तै, बाराही हाइड्रोपावरको मूल्य ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकको मूल्य ५.८१ प्रतिशतले बढेको छ। स्वेतगंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र राधि विद्युत् रहेका छन्।