दोलखा, ७ माघ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी विशाल निर्वाचन परिचालन समिति गठन गरेको छ।
बुधबार जिल्ला सभापति वर्मा लामाको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले निर्वाचनको तयारी र व्यवस्थापनलाई चुस्त बनाउन सभापति लामाकै नेतृत्वमा २२८५ सदस्यीय निर्वाचन परिचालन मूल समितिु गठन गर्ने निर्णय गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै जिल्ला प्रवक्ता राकेश श्रेष्ठले आगामी निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थिति र जित सुनिश्चित गर्न यति ठूलो संख्यामा समिति गठन गरिएको जानकारी दिनुभयो।
पार्टीले तल्लो तहसम्मै संगठन परिचालन गर्ने र निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने रणनीति लिएको छ। बैठकले जिल्लाका सबै तहका कार्यकर्ताहरूलाई चुनावी अभियानमा एकजुट भएर लाग्न निर्देशन समेत दिएको छ। आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कांग्रेस केन्द्रिय सदस्य एवं प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीलाई दोलखाबाट उम्मेद्वार बनाएको छ । जिल्लाको राजनीतिमा शिवाकोटी अब्बल युवा उम्मेद्वारका रुपमा परिचित छन् ।