काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै नेपालीलाई आह्वान गरेकी छन् ।
सूर्य आराधनाको महान् पर्व छठका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले देशमा उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै लोकतान्त्रिक प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन सबै पक्षलाई आग्रह गरेकी हुन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,
“आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।”
उनले जेनजी आन्दोलनपछि बनेको संवेदनशील अवस्थालाई सम्बोधन गर्दै भनेकी छन् कि अब सबैले परिस्थितिको जिम्मेवारी बोध गर्दै निर्वाचनलाई सफल बनाउन जुट्नुपर्ने बेला आएको छ ।
प्रधानमन्त्री कार्कीले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्दै भनिन्,
“यदि कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तरिकाले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदन गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि हो ।”
उनले छठ पर्वले ल्याउने सामाजिक एकता, सद्भाव र भ्रातृत्वका भावनाले अहिलेको अवस्थामा सबै नेपालीबीच अझ बढी नजिक्याउने विश्वास पनि व्यक्त गरिन् ।
सन्देशमा प्रधानमन्त्रीले थपेकी छन्,
“पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनारामा हुने उत्सवले सबैमा सद्भाव र खुसियाली छाओस् । सत्य, अहिंसा र प्रकृति प्रेममा आधारित यो पर्वले तराई–पहाड जोड्ने सेतुका रूपमा नेपाली समाजलाई अझ सुदृढ बनाइरहेको छ ।”