नेपाल टेक्स्ट, काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाले चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता रू. १०० अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
हकप्रद शेयर निष्काशनबाट संकलित रकम कम्पनीले अन्य हाइड्रोपावर आयोजनामा गरिएको लगानीका लागि प्रयोग गर्ने जनाएको छ । उक्त रकम ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजना मा लगानी गर्न उपयोग गरिने सिंगटी हाईड्रोका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिनुभयो ।
यस हकप्रद शेयर निष्काशनसँगै कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने र जलविद्युत क्षेत्रमा लगानी विस्तार हुने अपेक्षा गरिएको छ ।