दुई अदालतको पेसी एकैदिन पर्दा रवि लामिछानेको रिट स्थगित

nepaltext.com

४ मंसिर, बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले पेश गरेको रिट निवेदनमाथिको सुनुवाइ आज स्थगित भएको छ। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, आजको पेसी पाटन उच्च अदालतमा पनि परेको हुँदा लामिछानेका कानुन व्यवसायीले बुटवल इजलासमा सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकृत गरेको हो।

बिहीबारका लागि पेसी तोकिए पनि यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल माग्ने आदेश दिएको थियो। मूल मिसिल प्राप्त भएपछि आजको पेसी तोकिएको थियो। यसअघि कात्तिक २० गते पनि इजलासले सुरु मिसिल माग्ने आदेश दिइसकेको थियो।

लामिछानेले आफ्नो बिगो रकम बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न पाउनका लागि निवेदन दिएको थिए। सर्वोच्च अदालतले रविसँगै छविलाल जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेले आफ्नो हिस्सा अनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतको रूपमा पेश गरेका छन् भने जोशीले पनि उस्तै रकम पेस गरेका छन्। दुवै प्रतिवादीको व्यक्तिगत बिगो निर्धारण नभएकाले रिहा नहुने निर्णय समान रूपमा जारी भएको थियो।

हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्। अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया