काठमाडौं । सरकारले हाल रिक्त रहेका मुलुकहरूमा तत्काल राजदूत नपठाउने निर्णय गरेको छ। अन्तरिम सरकारले आर्थिक मितव्ययितालाई प्राथमिकता दिँदै राजदूतावासहरूलाई फिलहाल दोस्रो तहका अधिकारीमार्फत सञ्चालन गर्ने नीति लिएको हो।
शुक्रबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले भने,
“रिक्त रहेका देशमा राजदूत तत्काल नियुक्त हुँदैनन्। राजदूतावासका दोस्रो तहका कर्मचारीबाटै काम सञ्चालन हुनेछ। सरकार मितव्ययी ढङ्गले अघि बढ्नेछ।”
मन्त्री खरेलका अनुसार, सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय पनि गरेको छ।
राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आगामी कात्तिक १७ देखि २० गतेसम्म आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक भ्रमण स्वीकृत गरेको छ।
त्यस्तै, मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको छ।
अन्य अन्तर्राष्ट्रिय भ्रमण स्वीकृति
-
मङ्सिर ६ देखि १३ गतेसम्म पेरुको लिमामा हुने इन्टरनेसनल ट्रिटी अन प्लान्ट जिनेटिक रिसोर्स फर फुड एन्ड एग्रिकल्चरको एघारौँ अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा सहभागी हुनेछन्।
-
मङ्सिर ९ देखि १५ गतेसम्म बेल्जियमको ब्रसेल्समा हुने नेपाल–युरोपेली संघ संयुक्त आयोगको १६औँ बैठकमा परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ।
-
मङ्सिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने ६औँ टोकियो कन्भेन्सन कमिटी र १९औँ बैंकक कन्भेन्सन कमिटीको कार्यक्रममा शिक्षा सचिव चूडामणि पौडेल सहभागी हुनेछन्।
अन्य निर्णयहरू
मन्त्रिपरिषद् बैठकले समरजङ कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
त्यसैगरी, नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ।
सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचन मिति तोक्ने निर्णय गरेको छ।
त्यस्तै, छापाखाना तथा प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरिएको पनि प्रवक्ता खरेलले जानकारी दिए।