काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि जारी मतदानको अन्तिम नतिजा आजै राति सार्वजनिक हुने भएको छ। मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान आयोजित प्रेस ब्रिफिङका क्रममा एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेभन्दा अगाडि नै चुनावी परिणाम घोषणा गरिसक्ने तयारी रहेको जानकारी दिनुभयो। विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएकाले मतदान सकिएको करिब दुई घण्टाभित्रै आधिकारिक नतिजा बाहिर आउने उहाँको दाबी छ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार एकपटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। एक जना मतदातालाई सम्पूर्ण प्रक्रिया पुरा गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ। नेता गौतमका अनुसार यही कार्यविधि अनुसार अघि बढ्दा अबको ८ देखि साढे ८ घण्टाभित्र मतदानको सम्पूर्ण प्रक्रिया सम्पन्न हुनेछ। प्रविधिको उच्चतम प्रयोगका कारण गणनामा ढिलाइ नहुने भएकाले आजै राति एमालेले नयाँ नेतृत्व पाउने निश्चित देखिएको छ।