काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस विषयमा सरकारसँग औपचारिक जवाफ माग्ने निर्णय गरेको हो।
बैठकको जानकारी दिँदै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, “केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। केही दिनदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू सरकारले बन्द गरेको छ। यसबारेमा सरकारसँग जवाफ माग्ने विषयमा छलफल भएको छ।”
उनका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता संवेदनशील विषयमा कांग्रेस सधैं जिम्मेवार रहने भएकाले सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको हो।
बैठकमा यसबाहेक आगामी प्रदेशसभा निर्वाचनको तयारीसम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको पौडेलले जानकारी दिए।