कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी १० दिनभित्र किसानले सहज रूपमा युरिया मल पाउने बताएका छन्।
आज चन्द्रौटामा आयोजित कार्यक्रममा उनले भारतको कोलकाताबाट आयात भएको मल साता–दश दिनभित्र नेपाल आइपुग्ने र त्यसपछि किसानलाई सहज रूपमा उपलब्ध गराइने जानकारी दिए। अब मलको हाहाकार नहुने भन्दै मन्त्री अधिकारीले किसानलाई निश्चिन्त हुन आग्रह गरे।
उनले जिल्लाको खेतयोग्य जमिन र उत्पादनको आधारमा मल वितरण गर्नुपर्नेमा जोड दिँदै, “वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले अभावका कारण आर्थिक क्षति भोग्न नपरोस् भन्नेमा हामी संवेदनशील छौँ,” भने।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए। त्यस्तै, कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि वर्षायाम अगावै किसानलाई मल, बीउलगायत कृषि सामग्री उपलब्ध गराउने तयारी गर्नुपर्ने बताए।