बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

श्याम खतिवडा

ढाका । बंगलादेशमा १८ महिनाअघि छात्र आन्दोलनका कारण शेख हसीना नेतृत्वको सरकार ढलेपछि सम्पन्न भएको पहिलो आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ। तारिक रहमानको नेतृत्वमा रहेको बीएनपीले ३०० सदस्यीय जातीय संसदमा दुई–तिहाइभन्दा बढी सिट जित्दै सरकार गठनको बाटो लगभग सुनिश्चित गरेको हो।

स्थानीय टेलिभिजन च्यानलहरूले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार बीएनपी गठबन्धनले २०९ सिट जितेको छ भने जमात ए इस्लामी नेतृत्वको गठबन्धनले करिब ७० सिट प्राप्त गरेको छ। यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाताले सहभागिता जनाएका थिए, जसलाई पछिल्लो राजनीतिक परिवर्तनपछि जनताको पहिलो ठूलो जनादेशका रूपमा हेरिएको छ।

१७ वर्षदेखि लन्डन निर्वासनमा रहेका तारिक रहमान अब बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्। उनी बीएनपीका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। बीएनपीले यो जितलाई “जनताको विश्वासको प्रमाण” भन्दै राजनीतिक स्थिरताको नयाँ अध्याय सुरु भएको दाबी गरेको छ।

यो परिणाम २०२४ को ‘जन–युवा क्रान्ति’ पछि देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै नयाँ स्थिर सरकार गठनतर्फको संकेतका रूपमा व्याख्या गरिएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान प्रक्रिया ‘स्वतन्त्र तर पूर्ण रूपमा निष्पक्ष नभएको’ टिप्पणी गरेका छन्, तर कुनै ठूलो विवाद वा हिंसात्मक घटना भने सार्वजनिक रूपमा देखिएको छैन।

यसैबीच, नरेन्द्र मोदीले तारिक रहमानलाई बधाई दिँदै भनेका छन्, ‘यो जित जनताको विश्वासको प्रतिबिम्ब हो ।’ आगामी केही दिनभित्रै नयाँ सरकार गठन र नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार बंगलादेशको यो राजनीतिक परिवर्तनले दक्षिण एसियाली क्षेत्रीय राजनीतिमा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ।

प्रतिक्रिया