काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेकी छन्।
शुक्रबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले अहिलेको संरचना लिएर न चुनावमा जान सकिन्छ, न आन्दोलनमा भन्ने स्पष्ट सन्देश दिएकी छन्। “हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। अहिलेको मुख्य कार्यभार राजनीतिक दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन अपरिहार्य छ,” नेतृ तिम्सेनाले भनिन्, “कांग्रेसले प्रक्रिया सुरु गरिसकेको छ। अब अध्यक्षले राजीनामा दिएर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। उहाँले बिदा लिएर अभिभावक बने तुरुन्तै देशभर सकारात्मक सन्देश जानेछ।”
‘११ वर्षको अभ्यासले पार्टीलाई कहाँ पुर्यायो
नेतृ तिम्सेनाले अध्यक्ष ओलीले लगातार ११ वर्ष पार्टीको नेतृत्व गरिरहे पनि त्यस अवधिमा पार्टी र वाम आन्दोलन अग्रगामीभन्दा पनि निराशातर्फ धकेलिएको टिप्पणी गरिन्। “यो ११ वर्षमा भएका अभ्यासहरूले पार्टी, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो भन्ने गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ,” उनले भनिन्। उनका अनुसार नेकपा एमाले र नेकपाको एकता ऐतिहासिक अवसर भए पनि त्यसलाई ‘ध्वंशकारी अभ्यास’ले बिथोलेको बताइन्।
‘७४ जनाको ज्यानको जिम्मा कसले लिने
तिम्सेनाले भदौ २३ गतेको ‘जेनजी विद्रोह’मा मारिएका ७४ जनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाइन्। “अहिले नेतृत्वका प्रमुख साथीहरू सफल छन् भनिरहेका छन्। त्यसो भए असफल को हो प्रहरी हवलदारले गोली हानेको हो, तर त्यसको नैतिक जिम्मा तत्कालीन सरकारले लिनुपर्छ कि होइन ” उनले आक्रोश व्यक्त गरिन्। त्यस क्रममा उनले बैठकमा भदौ २३ र २४ का घटनालाई ‘षड्यन्त्र’ भनिँदा पनि त्यसको ठ्याक्कै स्रोत र वैदेशिक संलग्नता किटान गर्न नसकिएको बताइन्। “यदि एमालेविरुद्ध षड्यन्त्र भयो भने कुन–कुन निकायले गर्यो के हामी ती दूतावासहरूलाई बोलाएर सोध्ने साहस गर्न सक्छौं” उनले प्रश्न गरिन्।
‘सूर्य चिह्नमा प्रतिगामीहरू कसरी उठे’
एमालेको चुनाव चिह्न ‘सूर्य’ लाई लिएर तिम्सेनाले अर्को तीखो प्रश्न उठाइन् “एकपल्ट सम्झौं, सूर्यमा चुनाव लड्ने नाममा कस्ता प्रतिगामीहरू उठे दुर्गा प्रसाईं जस्ता अराजक व्यक्तिलाई पार्टीमा भित्र्याउने निर्णय कसको थियो त्यसको नैतिक र राजनीतिक जिम्मा को–कोले लिने हो ” ।
‘संविधान संकटमा छ, अब चुनावमै जानुपर्छ’
तिम्सेनाले अहिलेको अवस्थालाई “संविधानिक संकट” भन्दै संसद् पुनःस्थापनाको बाटो होइन, “नयाँ निर्वाचनमा केन्द्रित” हुनुपर्ने धारणा दिइन्। “देशमा बरबादी छ, सरकार कामचलाउ बनेको छ। संविधानलाई बाटोमा ल्याउन चुनाव नै विकल्प हो। संसद् पुनःस्थापनाको कुरा समाजका अधिकांश सरोकारवालाहरूले अस्वीकार गरेका छन्,” उनले भनिन्। उनका अनुसार नयाँ र परीक्षण भइसकेका नेताहरूलाई बिदा दिएर ‘ताजा नेतृत्व’मा चुनाव गए एमाले फेरि उठ्नेछ। “एमाले खरानी टकटक्याएर फेरि बौरनेछ,” उनको विश्वास थियो।
‘मीनबहादुरको जग्गा फिर्ता गर्न नेतृत्वलाई आग्रह’
नेतृ तिम्सेनाले अघिल्लो विवाद पुनः स्मरण गर्दै व्यवसायी मीनबहादुर गुरुङबाट दानस्वरूप लिइएको जग्गा फिर्ता गर्न पनि नेतृत्वलाई आग्रह गरिन्। “गुरुङको सम्पत्तिमाथि हमला भइसकेको छ। त्यसैले सहयोग फिर्ता गरेर पार्टीको नैतिक धरातल सुरक्षित गरौं,” उनले भनिन्। सो विषय उठाएको कारण उनी ६ महिनासम्म पार्टी जिम्मेवारीबाट निलम्बनमा परेकी थिइन्।
‘अब एक व्यक्तिको महत्वाकांक्षाले पार्टीलाई बाँध्न मिल्दैन’
अन्त्यमा तिम्सेनाले भदौ २४ का घटनालाई “राष्ट्र र पार्टी जीवनको महादुःस्वप्न” भन्दै इतिहासले चेतावनी दिइरहेको बताइन्। “एक व्यक्तिको महत्वाकांक्षाका कारण सिंगो पार्टीको विकास र प्रगति अवरुद्ध हुन नदिन नेतृत्वले जिम्मेवार निर्णय लिनुपर्छ,” उनले भनिन्। “एमाले प्रतिक्रियात्मक होइन, जिम्मेवार र परिपक्व संगठन हो—त्यसैले अब निर्णायक समय आएको छ,” उनले जोड दिइन्।