दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
nepaltext.com
५ मङ्सिर २०८२, बिहिबार
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंसहित विपक्षीहरूलाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन निर्देशन दिएको हो। सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार इजलासले ‘कारण देखाऊ’ आदेशसमेत जारी गरेको छ।
दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंसहित सम्बन्धित निकायहरूलाई विपक्षी बनाइएको छ।
दुर्गा प्रसाईंले गरेका अभिव्यक्तिका आधारमा प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो। साथै, उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।