काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आमनिर्वाचनअघि पार्टीले नीति महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् । सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत प्रतिनिधिहरू र बाँकी सबै पक्षलाई समेत समेटेर नीति महाधिवेशनको आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार विकास, स्थायित्व, समृद्धि र संविधानको रक्षा गर्न पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने समय आएको छ । उनले भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई ६० पुर्याउने वा ३० मा झार्ने ऊर्जामात्र खर्च गरेर समय बरबाद गर्ने कि संविधान र लोकतन्त्रको रक्षा गर्दै निर्धारित मितिमा आमनिर्वाचनतर्फ अघि बढ्ने भन्ने गम्भीर प्रश्नमा हामी निर्णयमा पुग्नुपर्छ। निर्णयमा पुग्न नसके पार्टी दुर्घटनातर्फ धकेलिन सक्छ।”
सभापति शेरबहादुर देउवानिकट रहेका कार्कीले पार्टीभित्र देखिएको असमञ्जस अन्त्य गरी सबैलाई साझा उद्देश्यतर्फ उन्मुख गराउन नीति महाधिवेशन महत्वपूर्ण हुने बताए । उनका अनुसार विशेष महाधिवेशनका मागहरूलाई सकारात्मक ढंगले सम्बोधन गर्दै त्यसलाई नीति महाधिवेशनको रूपमा परिणत गर्न सके आगामी निर्वाचनका लागि कांग्रेसले स्पष्ट दिशानिर्देश पाउनेछ ।
उनले देशभरका कांग्रेस कार्यकर्तालाई नीति महाधिवेशनका तयारीमा जुट्न आह्वान गर्दै भने, “पार्टीले सुशासन, शिक्षा र विकासलगायत क्षेत्रमा कस्तो नीति लिने भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्छ । जनताको जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने स्पष्ट खाका तयार पारौँ र यही नीति महाधिवेशनमार्फत जनतामुखी कांग्रेसको रूप प्रस्तुत गरौँ।”