‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला

nepaltext.com

काठमाडौं । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ। कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन माग खुला गरिएको हो।

यस योजनामा कुल ५ करोड इकाइ रहने व्यवस्था गरिएको छ। पहिलो चरणमा निष्कासन गरिने २ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवर्द्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ। जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे क्यापिटलका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट दिन मिल्ने व्यवस्था छ।

यस योजनाको इकाई बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयसम्म बन्द हुनेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहनेछ। सामूहिक लगानी कोषमा रुचि बढिरहेको समयमा सार्वजनिक भएको यस योजनाले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया