काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका ४ हजार ७९५ कैदीबन्दीको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार फरारमध्ये ४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिक छन् । विभागले उनीहरूलाई विदेश पलायन हुन नदिनका लागि राहदानी प्रयोगमा रोक लगाएको जनाएको छ ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभरबाट १४ हजार ५४९ जना कैदीबन्दी कारागारबाट भागेका थिए । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार तीमध्ये ९ हजार ४५३ जना पुनः कारागारमा फर्किसकेका छन् ।
उनका भनाइमा केही कैदीबन्दी स्वयं कारागार फर्किएका हुन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारमा पठाएको छ । हालसम्म बालसुधार गृहका बालबन्दी समेत ५ हजार १ सय ७४ जना अझै कारागार बाहिर रहेका छन् ।