काठमाडौँ, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्।
अध्यक्ष लिङ्देनले कार्कीलाई एक पत्र लेख्दै केन्द्रीय सदस्यलगायत पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन्। उक्त पत्रमा कार्कीलाई हालसम्म पार्टीको विभिन्न जिम्मेवारीमा रहेर पुर्याएको योगदानका लागि धन्यवाद समेत दिइएको छ।
कार्कीलाई पठाइएको पत्रमा भनिएको छ:
"तपाईंलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यलगायतको पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको छ। हालसम्म जिम्मेवारीमा रही कार्य गर्नुभएकोमा हार्दिक धन्यवाद।"
कार्कीलाई कुन कारणले पदमुक्त गरिएको हो भन्नेबारे राप्रपाले स्पष्ट खुलाएको छैन। यद्यपि, पछिल्लो समय पार्टीभित्रको आन्तरिक समीकरण र कार्यसम्पादनका आधारमा नेतृत्वले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने क्रमलाई तीव्रता दिएको देखिन्छ।