श्याम खतिवडा २२ चैत
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र नतिजामुखी काम गर्न सक्ने नेतृत्वको खोजी सुरु भएको छ। यसै सन्दर्भमा, जलविद्युत र भौतिक पूर्वाधार क्षेत्रमा सफल इतिहास बनाएका बटु लामिछानेले एसोसिएट समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेपछि व्यवसायीहरूमा नयाँ उत्साह देखिएको छ।
बिहीबार महासंघको केन्द्रीय कार्यालय पुगेर मनोनयन दर्ता गराएका लामिछानेले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई, निजी क्षेत्रको "भ्वाइस" लाई नीतिगत तहसम्म पुर्याउनका लागि भएको स्पष्ट पारेका छन्।
किन दिने बटु लामिछानेलाई भोट ?
१. चार दशकको व्यावसायिक अनुभव: २०४२ सालमा बैंकको जागिर छोडेर गलैँचा उद्योगदेखि जलविद्युतको ४०० मेगावाटे लक्ष्यसम्म आइपुग्दा लामिछानेले व्यवसायका उतारचढावलाई नजिकबाट भोग्नुभएको छ। संकटमा व्यवसाय कसरी जोगाउने र विस्तार कसरी गर्ने भन्ने उहाँसँग प्रयोगात्मक ज्ञान छ।
२. उर्जा र पूर्वाधारका विज्ञ: इन्द्रावतीदेखि चाखुखोलासम्म दर्जनौँ आयोजना सफलतापूर्वक सम्पन्न गर्नुभएका लामिछाने बीजी ग्रुप (BG Group) मार्फत देशको उर्जा संकट टार्न अहोरात्र खटिनुभएको छ। उहाँको उपस्थितिले महासंघमा जलविद्युत र निर्माण क्षेत्रका समस्या समाधानमा ठूलो बल पुग्नेछ।
३. लगानी विविधीकरणका प्रवर्द्धक: जलविद्युत मात्र होइन, पर्यटन (घान्द्रुक, चितवन र भैरहवाका होटल), कृषि र सूचना प्रविधि क्षेत्रमा पनि उहाँको लगानी फैलिएको छ। अर्थतन्त्रका सबै क्षेत्र बुझेकाले उहाँले महासंघमा समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्न सक्नुहुन्छ।
४. युवा पुस्ताका मेन्टर: "अनुभवलाई युवाको जोससँग जोड्नुपर्छ" भन्ने मान्यता राख्ने लामिछाने नयाँ पुस्ताका उद्यमीहरूलाई सधैँ प्रोत्साहित गर्ने नेताका रूपमा चिनिनुहुन्छ।
उम्मेदवारको प्रतिबद्धता: "बोल्ने मात्र होइन, डेलिभरी गर्ने नेतृत्व"
उम्मेदवारी दर्तापछि लामिछानेले भन्नुभयो "देशको जल, जमिन र जंगलमा अपार सम्भावना छ। तर नीतिगत अस्पष्टताले व्यवसायीहरू समस्यामा छन्। मैले ४० वर्षमा जे भोगेँ, त्यो समस्या अबका युवा व्यवसायीले भोग्नु नपरोस् भन्नका लागि मेरो उम्मेदवारी हो।"
चुनावी एजेन्डाहरू:
नीतिगत पैरवी: निजी क्षेत्र मैत्री कानुन निर्माणका लागि सरकारसँग सशक्त लबिइङ गर्ने।
उद्यमीको सुरक्षा: लगानीकर्ताको आत्मबल बढाउने र उद्योगीहरूको मान-मर्दन हुने वातावरणको अन्त्य गर्ने।
स्वदेशी उत्पादनलाई प्राथमिकता: निर्यातमुखी व्यवसायलाई प्रोत्साहन र सहुलियतका लागि विशेष पहल गर्ने।