काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतको पेसीमा चढेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा उक्त निवेदन सुनुवाइका लागि मिति तोकिएको हो।
प्रसाईंमाथि सार्वजनिक शान्ति भंग गर्ने आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। आन्दोलन घोषणासँगै उनले दिएका भड्काउ अभिव्यक्ति र त्यसले हिंसा फैलिन सक्ने सुरक्षात्मक विश्लेषणका आधारमा मंसिर १ गते भक्तपुर ठिमीस्थित उनको निवासबाट पक्राउ गरिएको थियो।
प्रसाईंले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने, यातायातसहित सबै क्षेत्र ठप्प पार्ने लगायतका घोषणा गर्दै आएका थिए। साथै देशको प्रतिष्ठासँग जोडिएको एनपीएल प्रतियोगिता रोक्न क्यानका अधिकारीलाई चेतावनी दिएको भिडियोसमेत सार्वजनिक भएपछि उनीप्रति थप चासो बढेको थियो।
५ मङ्सिर २०८२, बिहिबार ११:२६ मा प्रकाशित