३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनले पुराना पार्टी र तिनका नेताहरूको औचित्यमाथि प्रश्न उठाइरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदबाट हट्न आह्वान गरेका छन्।
शर्मा केही समयदेखि पार्टीभित्र रुपान्तरणको आवश्यकता औंल्याउँदै आएका थिए। जेनजी आन्दोलनपछि उनले वर्तमान नेतृत्व अब औचित्यहीन भएको निष्कर्ष निकाल्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका हुन्।
उनले पार्टी पंक्तिमा सुरु गरेको छलफलमा सहभागी एक कार्यकर्ताले उद्धृत गर्दै भने, “जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ। यसले नयाँ नेतृत्वको खोजी गरेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,” शर्माको भनाइ रहेको छ।
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरूले भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए। माइतीघरबाट सुरु भएको जुलुस नयाँबानेश्वरको प्रहरी घेरा तोड्दै संसद भवन पुग्दा प्रदर्शन हिंसात्मक बनेको थियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यही क्रममा व्यापक आगजनी र झडप भएपछि राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको थियो।
आन्दोलनपछिको पहिलो दिन सार्वजनिक भएका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए।
शर्माले प्रचण्डसहित शीर्ष नेताको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीको चरित्र उजागर गरेको बताएका छन्। उनका अनुसार अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलिएको छ। त्यसैले वर्तमान सरकारलाई सहयोग गर्दै आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
शर्माले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने माग पनि दोहोर्याएका छन्। उनले यसअघि साउनमा बसेको केन्द्रीय समिति बैठकमै प्रचण्डमाथि प्रश्न उठाएका थिए, तर त्यो बहुमतले अस्वीकृत भएको थियो।
प्रचण्ड पक्षकाले भने जनार्दनमाथि पार्टीमा अराजकता मच्चाइएको आरोप लगाउने गरेका छन् ।
जेनजी आन्दोलनबारे जनार्दनको संश्लेषण र आगामी बाटो यस्तो छ–
१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, सँस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।
२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।
४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।
५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।
६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।
८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।
९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ ।
११. पार्टी भित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।
१२. साँस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।
१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।
१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।
१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।
१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।