खड्काद्वारा पार्टीभित्र पूर्ण एकता कायम राख्न अपिल

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको वर्तमान राजनीति अन्योल र अनिश्चिततामुक्त नभएको भन्दै पार्टीभित्र पूर्ण एकता कायम राख्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको क्रममा खड्काले सार्वजनिक अपिलमार्फत् आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा परिमार्जन र नेतृत्व सहजरूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको बताएका छन्। उनले प्रतिनिधिसभा चुनाव र महाधिवेशन सफल बनाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

पार्टीभित्र केही असहज र अन्योलको अवस्था रहेको स्वीकार्दै खड्काले इतिहासका विभिन्न कालखण्डमा जस्तै अहिले पनि नेपाली कांग्रेसले नै मुलुकलाई निकास दिनुपर्ने बताएका छन्। उनले भने, ‘यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अनिवार्य छ।’ साथै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न नेता तथा कार्यकर्तासँग अनुरोध गरेका छन्।

प्रतिक्रिया