दशैंको मुख्य दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक र भन्सार कार्यालय खुला रहने भएका छन्। अर्थ मन्त्रालयमा मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो। साथै, हालैको पहिरोले अवरुद्ध तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन सरकार गम्भीर रहेको उनले बताए।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरू सहभागी थिए।
उद्योगी–व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानीलगायत माग राखेका थिए। जवाफमा मन्त्री खनालले व्यापार तथा उद्योगलाई सहजीकरण गर्न ‘एकीकृत व्यापार पुनरुत्थान योजना’ ल्याउने तयारी भइरहेको बताए।