महामन्त्रीद्वयको चेतावनी: चुनावअघि महाधिवेशन नभए कांग्रेसले चुनाव नलड्ने

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने चेतावनी दिएका छन्। सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यसँग आज भएको भेटवार्तामा महामन्त्रीद्वयले चुनावअघि नियमित वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनु आवश्यक भएकोमा जोड दिएका थिए।

‘महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने हामी चुनाव लड्दैनौं भन्ने कुरा गर्नुभयो,’ भेटमा सहभागी रहेका केन्द्रीय सदस्य आङगेलु शेर्पाले सेतोपाटीसँग भने। उनीहरूले महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ भन्ने तर्क राखेका छन्।

सभापति देउवा पक्षका २८ केन्द्रीय सदस्य पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको जनाइएका छन्। उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका तत्काल ल्याउन आग्रह गरेका छन्।

कांग्रेसभित्र चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने, र नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा विवाद छ। यसबारे निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने भएको छ।

त्यसैबेला, सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी चुनावपछि वैशाखमा मात्रै १५औँ महाधिवेशन गर्ने पक्षमा छन्।

प्रतिक्रिया