गोपनीयता भंगको आरोपमा कपिलवस्तुका रास्वपा संगठन प्रमुख नियन्त्रणमा

nepaltext.com

२८ माघ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्। बाणगंगा नगरपालिका–८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। भट्टराईले गत माघ २६ गते फेसबुक वालमा ती कागजातहरू सार्वजनिक गरेको उजुरी आएपछि मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

डीएसपी सिंहका अनुसार सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो। उनले भने, ‘सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो,’ साथै ‘भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ ।’ प्रहरीका अनुसार भट्टराईले यसअघि पनि पटक–पटक फेसबुकमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि गरेको आरोप छ। जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी भट्टराईमाथि थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए।

प्रतिक्रिया