ग्लोबल आइएमई बैंकलाई पुनः ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि

nepaltext.com

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई पुनः ‘द बेस्ट बैंक इन नेपाल २०२५’को उपाधि प्रदान गरेको हो ।

यो सम्मान बैंकले वित्तीय सेवा विस्तार, ग्राहक सन्तुष्टि, नवीन प्रविधिको प्रयोग र समग्र बैंकिङ क्षेत्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा प्राप्त गरेको हो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जालमार्फत यस उपलब्धिको जानकारी दिँदै गर्व र खुशी प्रकट गरेका छन् । उनले लेखेका छन्, “गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको विश्वास, साथ र सहयोगले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ ।”

अध्यक्ष ढकालले आगामी दिनहरूमा पनि ग्राहकमैत्री सेवा विस्तार, नवप्रवर्तन प्रवर्द्धन र वित्तीय पहुँच वृद्धि गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्ला वर्षहरूमा बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्दै डिजिटल बैंकिङको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यस सम्मानले ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ सुदृढ भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया