मेलम्ची अवरोध हटाउन कुलमान घिसिङको आग्रह, सरकारले वार्तामार्फत समाधान खोज्ने

nepaltext.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा देखिएको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

मन्त्री घिसिङले गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँगको कुराकानीमा विगतका सम्झौताअनुसार आयोजना प्रभावितहरूले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए। उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिँदा स्थिति गम्भीर बनेको भन्दै छिटो समाधानका लागि पहल भइरहेको जानकारी पनि दिए।

त्यस्तै, अध्यक्ष शेर्पाले सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आयोजनाले लिएका जग्गा तथा घरभाडा, पूर्वनिर्माण कम्पनी CMC का आपूर्तिकर्तालाई भुक्तानी, मेलम्ची बजार–घ्याङ सडक निर्माणसुन्दरीजलमा प्राप्त हुने पानीको बिक्री रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासमा विनियोजन गर्नुपर्ने माग गरिएको छ।

यसअघि, २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र स्थानीय राजनीतिक दलबीच उक्त विषयमा सहमति भइसकेको थियो।

प्रधानमन्त्री शुशीला कार्कीले पनि मेलम्ची खानेपानी आयोजनासम्बन्धी समस्या समाधानका लागि आवश्यक निर्देशन दिएकी छन्। हाल प्रधानमन्त्रीकै नेतृत्वमा पानी मन्त्रालयको जिम्मेवारी सञ्चालन भइरहेको छ।

प्रतिक्रिया