एनआरएनलाई राजनिति वा पार्टीगत बनाउनु हुदैँन: सञ्चार मन्त्री खरेल

nepaltext.com

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय गरिमा गुमाउँदै गएको भन्दै संघलाई राजनीतिक प्रभावबाट टाढा राख्न आग्रह गरेका छन्। आइतबार गैरआवासीय नेपाली संघको बृहत् एकता सम्बन्धी कार्यक्रममा बोल्दै उनले एनआरएनए भित्रका धेरै नेता र समूहहरू राजनीतिक दलका गुटझैँ बनेकाले संघ कमजोर भएको टिप्पणी गरे।

उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरूमा खस्किदै गयो। त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए। तपाईहरु चोइटिनुभयो। तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो। एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाईदिनु होला।’

मन्त्री खरेलले संघको बृहत् एकता गैरआवासीय नेपालीहरूको सामूहिक हितको लागि ठूलो अवसर भएको भन्दै एनआरएनएलाई समग्र गैरआवासीय नेपाली जनताको तथा राष्ट्रकै हितमा उभिनुपर्ने बताए।

उनका अनुसार आजको एकता समारोहले एनआरएनएलाई राजनीतिक प्रभावभन्दा माथि राख्ने अपेक्षा गरिएको छ। उनले थपे, ‘आजको एकता समारोहमा मैले पटक–पटक भन्थे राजनीतिकबाट माथी राखौं। अनि सम्मान बढ्छ। अब एनआरएनए कहिलै भुट्दैन। अब एनआरएनए राजनीतिक भन्दा माथी रहन्छ। अब एनआरएनए जन्मभूमिका लागि अरबौं लगानी ल्याउनको लागि तपाईंहरू नै हाम्रो साथी बन्नुहुन्छ। नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ।’

प्रतिक्रिया