खनालको आगमनसँगै शेयर बजारमा चमक, असोज ५ अघि नै खुल्ने तयारी

nepaltext.com

काठमाडौं । अर्थतन्त्र र पूँजीबजारमा गहिरो अनुभव राख्ने पूर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री नियुक्त भएसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा उकासिएको देखिएको छ।

उनको नियुक्तिपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता, सरकारी खर्चमा संयम अपनाउने निर्देशन र लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक माहोल सिर्जना गरेको प्रारम्भिक विश्लेषण छ।

लगानीकर्ताको तीव्र दबाबकै बीच नेपाल धितोपत्र बोर्ड र नेप्से अधिकारीहरूले असोज ५ गतेअघि नै बजार सञ्चालनमा ल्याउने सम्भावनाबारे छलफल थालेका छन्। धितोपत्र बोर्डले आजै सञ्चालक समिति बैठक बोलाएर बजार खुल्ने मिति, समयावधि र सर्किट ब्रेकरको व्यवस्थाबारे निर्णय गर्ने तयारी गरेको छ।

राजनीतिक वातावरण स्थिर हुँदै गएको र लगानीकर्ताको आत्मविश्वास बढेकाले सुरुवाती दिन दुई घण्टामात्र बजार खोल्ने वा पूरा समय सञ्चालन गर्ने भन्ने विषयमा पनि विकल्पगत बहस भइरहेको छ। असोज १ गते सार्वजनिक विदा परेकाले असोज २ गते एकदिन मात्र बजार खोल्ने कि असोज ५ गतेदेखि नियमित गर्ने भन्ने विषयमा मंगलबार अन्तिम निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया