एमाले महाधिवेशन: अध्यक्ष ओली तेस्रो स्थानमा लोकप्रिय मत

श्याम खतिवडा

काठमाडौं । नेकपा एमालेको निर्वाचनले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र थप वर्चस्वशाली बनाएको छ। अध्यक्ष पदको प्रतिस्पर्धामा उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई निकै फराकिलो मतान्तरले पराजित गरे। ओलीले १६६३ मत ल्याएर विजयी हुँदा पोखरेल ५६४ मतमै सीमित भए, जसले ओलीले दुई तिहाइभन्दा बढी मत हासिल गरेको देखाउँछ। यद्यपि, यो निर्वाचनमा ओलीले सर्वाधिक मत ल्याएका भने होइनन्। पार्टीभित्र दुई जना नेताले उनीभन्दा बढी प्रतिनिधिको समर्थन प्राप्त गरेका छन्।

उपाध्यक्ष पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले अध्यक्ष ओलीभन्दा बढी मत ल्याएका हुन्। एमाले पदाधिकारीमध्ये सबैभन्दा लोकप्रिय मत पृथ्वीसुब्बा गुरुङले प्राप्त गरेका छन्, जसमा उनले १७३७ मत हासिल गरे। त्यस्तै, विष्णु पौडेलले १६७५ मत प्राप्त गरे। अध्यक्ष ओली १६६३ मतसहित लोकप्रिय मतको आधारमा तेस्रो स्थानमा रहेका छन्। ओलीपछि सचिव पदका उम्मेदवार महेश बस्नेत लोकप्रिय मतको सूचीमा पर्छन्, जसले १५३४ मत प्राप्त गरेका छन्।

लोकप्रिय मतका आधारमा शीर्ष दसमा त्यसपछि क्रमशः पद्मकुमारी अर्यालले १५३०, रामबहादुर थापा ‘बादल’ले १५१६, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, लेखराज भट्टले १४५२ र गोकर्ण विष्टले १३६८ मत प्राप्त गरेका छन्। निर्वाचन परिणामले एमालेभित्र नेतृत्वको हैसियतसँगै व्यक्तिगत लोकप्रियताको स्पष्ट चित्र पनि प्रस्तुत गरेको छ।

प्रतिक्रिया