जाँचबुझ आयोगको चेतावनीपछि देउवा–प्रचण्ड म्याद बुझ्न बाध्य, लिखित जवाफ दिने तयारी

nepaltext.com

१८ पुस, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले म्याद बुझ्न पठाएको पत्र सुरुमा अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः सार्वजनिक सूचना निकालिने चेतावनीपछि म्याद बुझेको खुलेको छ। आयोगले दुवै नेतालाई आफ्नो धारणा राख्न आग्रह गर्दै व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र पठाएको थियो तर सुरुमा उनीहरूले म्याद बुझ्न अस्वीकार गरेका थिए। देउवाले २४ भदौको आगजनीबाट आफू स्वयं पीडित भएको, घर जलेर विस्थापित हुनुपरेको र जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै जिम्मेवार भूमिकामा नरहेको अवस्थामा किन बयान दिनुपर्ने भन्दै प्रश्न उठाएका थिए।

त्यस्तै प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेर सत्तापक्षलाई खबरदारी गरिरहेको, सोही क्रममा आफ्नै घरमा आगजनी भएको अवस्थामा कुन आधारमा बयान दिने भन्ने प्रश्न गर्दै पत्र नबुझेका थिए। यद्यपि आयोगका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान होइन, केवल सोधपुछ र धारणा लिनका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए। आयोगलाई सहयोग गर्न आग्रह गर्दै यदि पत्र बुझ्न अस्वीकार गरिए सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशन गरिने र त्यसपछि पनि सहयोग नगरे उक्त व्यहोरा प्रतिवेदनमा समावेश गरिने चेतावनी दिएपछि दुवै नेताले केही घण्टाको अन्तरालमा म्याद बुझेका हुन्। तर आयोगमा स्वयं उपस्थित हुने वा लिखित जवाफ पठाउने भन्ने विषयमा भने हालसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन।

प्रतिक्रिया