शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकारलाई आधारविहीन र दिशाहीन संज्ञा दिएका हुन्। उनले भने, “यो फेद न टुप्पोको सरकार हो, जरा पनि छैन, हाँगा पनि छैन — पहेँलो लहरोजस्तो।”
ओलीले आफूलाई सुकरातसँग तुलना गर्दै सरकार अनुत्तरदायी बनेको आरोप पनि लगाए। उनले भने, “त्यसबेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ र ? तमासाको पनि हद हुन्छ नि।”
पासपोर्ट रोक्का गरिएको र स्थानहद तोकिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै ओलीले भने, “आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ। नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दैछ सरकार?”
उनका अनुसार अहिलेका प्रतिगमनकारीहरू न जनसमर्थनका आधारमा छन्, न कुनै ऐतिहासिक वा परम्परागत टेवा छ। ओलीले भने, “अहिलेको सरकारले आगो लगाउने, तोडफोड गर्ने, आतङ्क मच्चाउने भरमा शासन गरिरहेको छ। यस्तो सरकारको कुनै वैधानिकता हुँदैन।”
अध्यक्ष ओलीले अहिलेको शासन प्रणालीलाई व्यङ्ग्य गर्दै भने, “डिस्कर्डबाट शासनमा पुगेका रे! लोकतन्त्रमा कहीँ डिस्कर्डबाट शासन हुन्छ र?”
उनले व्यङ्ग्यात्मक शैलीमा थपे, “दुई–तीन हजार केटाकेटी जम्मा भए रे, अनि भोटिङ गरे रे! कसले गन्यो त? मतपत्र कस्तो थियो? रेजा लगायो कि प्वाल पार्यो, अमेरिकाको जस्तो?”