बैंकमा तरलता फालाफाल, राष्ट्र बैंकले फेरि ३० अर्ब संकलन गर्ने

nepaltext.com

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता जमाजमा भएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा संकलन गर्न लागेको छ।

केन्द्रीय बैंकले आज (कात्तिक २३ गते) ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको हो। तरलता सन्तुलनमा ल्याउनका लागि राष्ट्र बैंकले दिउँसो २ बजे निक्षेप संकलनको बोलकबोल गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकका अनुसार, निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्नेछन्। यो बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा पनि सहभागी हुन सकिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यसमा सहभागी हुन पाउने छन्।

यो निक्षेप संकलन उपकरणको अवधि ८४ दिनको हुनेछ। यसको साँवा तथा ब्याज भुक्तानी माघ १८ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहँदा बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशतको ब्याजदरमै राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य बनेका छन्।

प्रतिक्रिया