ओलीको विवादित अभिव्यक्तिको रिल्स हटाउन प्रेस काउन्सिलको निर्देशन

nepaltext.com

काठमाडौं । प्रेस जगतको नियमकारी संस्था प्रेस काउन्सिल नेपालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिसम्बन्धी एउटा विवादित भिडिओ हटाउन विभिन्न फेसबुक पेजहरूलाई निर्देशन दिएको छ। सिमरा घटनाबारे ओलीले गरेका टिप्पणीको सानो अंश काटेर उत्तेजक शैलीमा सामाजिक सञ्जालमा प्रसारण गरिएको भन्दै काउन्सिलले आपत्ति जनाउँदै त्यसलाई सम्पादन वा स्थगित गर्न पत्र पठाएको हो।

‘मेरो न्यूज डटकम’ लगायतका पेजहरूलाई पठाइएका पत्रहरूमा उल्लिखित सामग्री आचारसंहिता विपरीत भएको काउन्सिलको स्वअनुगमनमा देखिएको उल्लेख छ। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार पुरै भिडिओ राख्नेहरूलाई दवाव नदिलाइएको तर उत्तेजक अभिव्यक्तिमात्र काटेर रिल्समा अपलोड गर्नेहरूलाई सचेत गराइएको हो। उनले नेपाल प्रेससँग भने, ‘पूरै भिडिओ हाल्नेहरूलाई हामीले काटेका छैनौं । तर, उत्तेजक अभिव्यक्तिको अंशमात्र काटेर रिल्समा हाल्नेहरूलाई त्यो सम्पादन गर्न वा हटाउन भेका हौँ ।’

काउन्सिलले पठाएको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिँदै उत्तेजक तथा हिंसा बढावा दिने खालको सामग्री सम्पादन गरी वा स्थगित गरी २४ घन्टाभित्र जानकारी दिन निर्देशन गरिएको छ। पत्रमा कुन अभिव्यक्ति सम्पादन गर्ने भन्ने स्पष्ट नउल्लेख भए पनि बुझिएअनुसार ओलीले ‘एमालेमाथि हमला हुन्छ भनेर एमालेले फनक्क फर्केर जवाफ दिन्छ’ भनेको अंशलाई विवादास्पद ठहरिएको छ।

यता, काउन्सिलको कदमप्रति एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले कडा आपत्ति जनाएको छ। यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण ठहराउँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले काउन्सिललाई निर्णय सच्याउन आग्रह गरेका छन्। विज्ञप्तिमा पाण्डेले भनेका छन्, ‘सार्वजनिकरूपमा देशका पूर्वप्रधानमन्त्रीले दिएको मन्तव्य प्रकाशन र प्रसारण गर्नु प्रेसको दायित्व हो, प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कत तत्काल सच्चाउन काउन्सिललाई आग्रह गर्दछौँ ।’

के भनेका थिए ओलीले ?
ओलीले सिमरा विमानस्थल बन्द भएको घटनामा सरकारप्रति कडा असन्तोष व्यक्त गर्दै सुरक्षा संयन्त्रको कमजोरी, ‘जेनजी’ नाममा भइरहेका तोडफोड र अवरोध, चुनावी वातावरणमा परेको असर तथा नेतामाथिका हमलाबारे तीव्र आलोचना गरेका थिए। अन्त्यतिर उनले भने, ‘एमालेमाथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्केर जवाफ दिन्छ।’

प्रतिक्रिया