काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेको छ। बुधबारको दोहोरो अंकले बढेको बजार आज घटेर बन्द भए पनि, कारोबार रकम भने लगातार बढ्दै ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ पुगेको छ। कुल ३२० स्टकको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर किनबेच भएको छ।
आज पहिलोदिनै बजारमा आएका दरमखोला इनर्जी लिमिटेड र माबिलुङ इनर्जीका शेयर मूल्य सकारात्मक सर्किटमा पुगे। दरमखोलाको शेयर प्रतिकित्ता ४४२.४० रुपैयाँमा, माबिलुङको ४२२.७० रुपैयाँमा अन्तिम कारोबार भयो। अर्कोतर्फ, सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किटमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ।
आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिस्टिलरी र एनआरएन इन्फ्रास्ट्रक्चरमा भयो। कुल १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा बढेका छन् भने घटेका उपसमूहको गिरावट १ प्रतिशतभन्दा कम छ।