बक्यौता बुझाउने अन्तिम म्याद आज सकिँदै, लाइन काट्ने तयारीमा विद्युत प्राधिकरण

nepaltext.com

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका उद्योगहरूले बक्यौता बुझाउने नेपाल विद्युत प्राधिकरणले तोकेको अन्तिम म्याद आज (शनिबार) सकिँदैछ । प्राधिकरणले दिएको किस्ताबन्दी सुविधाअनुसार आज बेलुकीसम्म पनि रकम नबुझाए लाइन काट्ने चेतावनी दिएको छ ।

बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया खारेज गर्दै १७ कात्तिकभित्र भुक्तानी गर्न निर्देशन दिएको थियो । तर, पछि १३ असोजमा सूचना परिमार्जन गर्दै म्याद २ कात्तिकसम्मका लागि बढाइएको थियो ।

त्यो अनुसार आज बक्यौता बुझाउने अन्तिम दिन भए पनि अहिलेसम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हालसम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ, लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएका छन् ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकैपटक बुझाएको छ भने, सम्राट सिमेन्टले तीन किस्ता बापत ४० लाख ४७ हजार, नवनेपाल प्लास्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेका छन् । यी उद्योगबाट हालसम्म जम्मा ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापत उठेको उनले जानकारी दिए ।

यद्यपि केही उद्योगीहरूले अझै रकम बुझाउन नसकी समस्या समाधानको माग गरेका छन् । उनीहरूले शुक्रबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेटी ध्यानाकर्षण पत्र बुझाउँदै समय थप र नीतिगत समाधानको माग गरेका छन् ।

प्रतिक्रिया