रौतहट । बन्द सुटकेसमा मृत भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार, पासवानले आफैंमा डिजेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेको हो। उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयहरूले भेटे र प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको छ। प्रहरी स्रोतका अनुसार उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको छ र बोल्नसमेत कठिन भएको बताइएको छ।
हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धानलाई निरन्तर अगाडि बढाइरहेको छ।
११ भदौ २०८२, बुधबार १२:२९ मा प्रकाशित