२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र भोलिपल्ट देखिएको विध्वंशबारे छानबिन गर्न गठन गरिएको आयोगले अब दुई सुरक्षा संगठनका प्रमुखहरूसँग बयान लिने तयारी गरेको छ। आयोगसम्बद्ध स्रोतका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान सुरु गर्ने र त्यसपछि नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने योजना बनाइएको छ। आन्दोलनको समयमा अर्याल नै सशस्त्र प्रहरीको नेतृत्वमा थिए भने कार्की आन्दोलनअघि प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन्। उनले भदौ २३ गते राति मन्त्रिपरिषद्को निर्णयपछि भोलिपल्ट अर्थात् २४ गतेदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए।
आयोगले कार्कीलाई अहिलेको प्रहरी महानिरीक्षकको हैसियतमा नभएर आन्दोलनताका उनी रहेकै पद—तत्कालीन एआईजीको भूमिकामा—बयान लिने तयारी गरेको हो। आयोगसम्बद्ध एक स्रोतका अनुसार, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको बहालवाला नेतृत्वसँग हामीले बयान लिइसकेका छैनौँ, अब बल्ल थाल्ने हो,’ स्रोतले भने, ‘त्यसलगत्तै तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ।’
उता, अघिल्लो सातादेखि सुरु भएको तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान सकिएको छ। त्यस्तै, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि आयोगसमक्ष आफ्नो बयान दिएका छन्।
आयोगलाई काम गर्न अब करिब एक सातामात्र समय बाँकी रहेको छ, तर बयान प्रक्रिया अझै पूरा भएको छैन। आवश्यक विवरण संकलन र प्रतिवेदन लेखनका काम बाँकी रहेकाले आयोगको समयावधि थप्नुपर्ने almost निश्चित भइसकेको आयोगसम्बद्ध स्रोतले बताएको छ।