राष्ट्रियसभा निर्वाचनमा कोशीबाट १४ मतदाता अनुपस्थित

nepaltext.com

विराटनगरमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट १४ जना मतदाता अनुपस्थित भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार पालिकातर्फ ९ जना र प्रदेश सभातर्फ ५ जना मतदानमा सहभागी भएनन् । कोशी प्रदेशमा कुल ९३ जना प्रदेशसभा सदस्य रहेकामा राप्रपाका सदस्यहरू मतदान प्रक्रियामा नआएको जनाइएको छ । कोशीमा राप्रपाका ६ जना प्रदेशसभा सदस्य रहेकामा संसदीय दलका नेता समेत रहेका भक्ती सिटौला प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएर उम्मेदवार बनेका कारण मतदाता सूचिबाट बाहिरिएका छन् । उनीबाहेकका बाँकी ५ जना प्रदेशसभा सदस्य मतदान गर्न नआएको पूर्व संसदीय दलका नेता भक्ती सिटौलाले जानकारी दिए । ती पाँच जनामध्ये एक जना सभामुखसमेत रहेका छन्, तर सभामुखले पनि मतदान नगरेको बताइएको छ ।

यस्तै, स्थानीय तहबाट पनि केही जनप्रतिनिधि अनुपस्थित भएका छन् । राप्रपाबाट निर्वाचित एक जना पालिका अध्यक्ष र दुई जना उपाध्यक्षले मतदानमा भाग लिएनन् । कोशी प्रदेशमा १३७ वटा पालिका रहेका छन्, जसमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २७४ जना मतदाता हुन्छन् । तीमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन राजीनामा दिइसकेका छन् भने एक जना भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका छन् । यी सबै कारणले गर्दा कोशीमा राष्ट्रियसभा निर्वाचनमा केही मतदाता अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया