प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ गतेसम्म चीनको आधिकारिक भ्रमणमा जान लागेका छन्। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा सांघाइ सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुनेछन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान झेङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सेप्टेम्बर १ मा तियानजिनमा आयोजना हुने ‘एससीओ प्लस समिट’लाई उनले सम्बोधन गर्नेछन्। शिखर सम्मेलनकै अवसरमा ओलीले सहभागी अन्य राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको छ। त्यसैगरी, जापानी उपनिवेशविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायतको टोली रहनेछ।
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।