प्रधामन्त्री कार्की र विद्यादेवी भण्डारीबीच केपी ओलीको गिरफ्तारीबारे छलफल भएको महेश बस्नेतको दाबी

nepaltext.com

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दाबी गरेका छन्। बस्नेतले आफ्नो फेसबुक स्टाटसमार्फत ‘षड्यन्त्रको नयाँ खेल’ भन्दै यस्तो दाबी सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, ‘दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।’

बस्नेतले यो घटनालाई हालसालै चलेका ‘GenZ समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता’, हिमेश पन्तलगायत सेलिब्रिटीहरूले फैलाएको भ्रम तथा ‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायलसँग जोडेर व्याख्या गरेका छन्। उनका अनुसार यी सबै गतिविधिले एउटै उद्देश्यतर्फ संकेत गर्छन्— एमालेको आसन्न महाधिवेशन भाँड्ने, पार्टीभित्र आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने प्रयास।

उनले भनेका छन्, ‘महाधिवेशनमा चुनाव भए सके हराउने, नसके भोट घटाउने नै उनीहरूको अन्तिम उद्देश्य हो।’ बस्नेतले हिजोको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले दिएको प्रतिक्रियालाई पनि उद्धृत गरेका छन्, जहाँ पोखरेलले, ‘किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन भन्ने प्रश्न पत्रकारहरूले सोध्न भुल्नुभयो। म भए जान्थेँ, उहाँ पनि जानैपर्छ,’ भनेका थिए।

बस्नेतले एमाले यस्तो कुनै पनि षड्यन्त्रको सामना गर्न पूर्ण रूपमा सक्षम रहेको चेतावनी दिएका छन्। उनका अनुसार, पार्टी आफ्नो अडानमा अडिग छ र अध्यक्ष ओलीलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि प्रयास सफल हुन सक्दैन। अन्त्यमा उनले लेखेका छन्, ‘तिमीहरूका हरेक कर्तुत र योजना अब पूर्ण रूपमा बुझिसकिएको छ। अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको खेल नजन्मदै तुहिनेछ।’

प्रतिक्रिया