काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनका कारण स्थानीय व्यापार ठप्पप्राय भएको छ। तीन दिनदेखि महाधिवेशनको चहलपहल भए पनि गोदावरीका फुटपाथ क्षेत्रलगायतका पसलहरूमा अपेक्षित व्यापार हुन नसकेको व्यापारीहरूले गुनासो गरेका छन्।
महाधिवेशनका कारण सडक जाम हुने, पार्किङ अव्यवस्थित हुने र आवतजावतमा असजिलो भएपछि पर्यटक र स्थानीय ग्राहक पसलसम्म नआएको व्यवसायीहरूको भनाइ छ। प्रतिनिधिहरूका लागि सभाहलमै खाना–खाजाको व्यवस्था भएकाले बाहिरी पसलमा चिया मात्र पिउन आउने गरेको व्यापारी दुर्गा मगर बताउँछिन्।
२५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले भनिन्, “महाधिवेशनले व्यापार बढ्छ भन्ने ठूलो आशा थियो, तर उल्टै नियमित कारोबार पनि घटेको छ। पसल अगाडि पार्किङले सबै छेकिदिन्छ, ग्राहक पसलसम्मै नपुग्ने अवस्था छ।”
गोदावरी नगरपालिकाले अघि सारेको ‘स्मार्ट पसल’ अवधारणाले पनि व्यवसायमा सहजता नआएको उनको गुनासो छ। “पहिले आफैंले बनाएको पसलमा व्यवस्थापन सजिलो थियो, अहिले छाप्रोमा सामान राखेर व्यवसाय गर्नुपरेको छ,” उनले भनिन्।
यस्तै, १५ वर्षदेखि खुद्रा व्यापार गर्दै आएकी मिठु मगरको व्यापार पनि महाधिवेशनपछि ठप्पप्राय भएको छ। चाउचाउ, कुर्मुरे, चिप्सजस्ता सामान बेच्ने उनी भन्छिन्, “हिजोअस्ति अलिकति बिक्री हुन्थ्यो, तर आज एकदमै कम भयो। दिनमा दुई हजारसम्म कमाउने गर्थें, अहिले त त्यति पनि छैन।”
व्यापारीहरू महाधिवेशन सकिएलगत्तै पुरानै कारोबार फर्किने आशामा छन्। तर हालको अवस्थाले भने उनीहरू चिन्तित बनेका छन्।